News Griha :: न्यूजगृह
बालकृष्ण खाण प्रकरण : न्यायाधीशकै राय बाझिएपछि के हुन्छ?, के छ कानुनी व्यवस्था? 

काठमाडौं— पूर्वगृहमन्त्री बालकृष्ण खाणका सम्बन्धमा उच्च अदालतका न्यायाधीशहरूको राय बाझिएको छ

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि खाणका सम्बन्धमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो । पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएपछि अब बालकृष्णको हकमा तेस्रो न्यायाधीशको एकल इजलासमा छुट्टै सुनुवाइ हुनेछ । त्यतिबेलासम्म खाण थुनामै रहने भएका छन् ।

उच्च अदालत नियमावली २०७३ को नियम १२ मा राय बाझिएको अवस्थासम्बन्धी व्यवस्था छ । नियम १२ को उपनियम (१) मा भनिएको छ

संयुक्त इजलासबाट हेरिने मुद्दा तथा प्रतिवेदनको सुनुवाइ गर्दा दुईजना न्यायाधीशहरूकाबीच मतैक्य नभएमा दुई न्यायाधीशहरूको रायसहित सो मुद्दा वा प्रतिवेदन निर्णयार्थ तेस्रो न्यायाधीशसमक्ष पेस गरिनेछ । यसरी पेस भएपछि तेस्रो न्यायाधीशको राय बमोजिम कायम हुन आएको बहुमतको निर्णय अन्तिम निर्णय मानिने छ ।

तेस्रो न्यायाधीशको इजलासपछि पनि बहुमत कायम हुन नसकेमा सर्वोच्चमा पठाउनुपर्ने व्यवस्था उपनियम (२) मा गरिएको छ ।

उपनियम १ बमोजिम तेस्रो न्यायाधीशसमक्ष पेस गर्दा पनि बहुमत कायम हुन नसकेमा तारिखमा रहेका पक्षहरूलाई तारिख तोकी सबै न्यायाधीशहरूको रायसहित सो मुद्दाको मिसिल निर्णयार्थ सर्वोच्च अदालतमा पठाउनुपर्नेछ ।

अब कम्तीमा तेस्रो न्यायाधीशको एकल इजलासको निर्णय नआउँदासम्मका लागि खाणको कारागार बसाइ लम्बिएको छ । तेस्रो न्यायाधीशले छुट्ने आदेश दिएमा उनी छुट्नेछन् भने अन्यथा कारागारमै रहने वा थप सुनुवाइका लागि सर्वोच्च अदालतलाई कुर्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:०६
Weather Update