
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीले कसुर गरेको पुष्टि हुन नसकेकाले पछि ठहर बमोजिम हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश गरेको हो ।
उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ । जिल्लाले टोपबहादुरलाई थुनामा राख्न आदेश दिएको थियो ।
काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरीतको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरिपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मङ्गलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिए पनि फैसला शुक्रबार मात्रै आएको हो ।













