
काठमाडौं— प्रतिवादी सानु भण्डारीले मेरो बुबालाई मामा भनी सम्बोधन गरी घरमा आउने गरेका गरेका थिए । निज मेरो घरमा बुबालाई भेट्न आउने क्रममा निजसँग चिनजान हुन गएको हो । पछि निज म मिली पाटनरसिपमा २ वर्ष टायल मार्बलको व्यापारसमेत गरेका हौँ । निजसँग विगत ६, ७ वर्ष अगाडि टायल मार्बलको शेयरमा बसी काम गरेको हो ।
निजले २ वर्षसम्म काम गरी शेयर बसेको र बिचमा १ वर्ष छाडे पछि पुन पाटनरसिपमा काम गर्ने भनी आएको हुँदा संयुक्त रूपमा काम गरेको हो । म समेतले सञ्चालन गरेको कम्पनीको नाम लियोन ट्रेडर्स प्राली हो । उस कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको उक्त कम्पनी दर्ता गर्दाको अवस्थामा सञ्चालकमा म प्रतिवादी सानु भण्डारी, सरोज बुढाथोकी र जोसेफ रायमाझी गरी ४ जना थियौँ ।
हाल सानु भण्डारीको स्थानमा भिष्म पोखरेललाई राखेका छौँ । मैले निज प्रतिवादीहरू केशवप्रसाद दुलाल, मान भयहारी र सन्देश शर्मा मार्फत कोही कसैलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाई दिने भनी कुनै रकम लिएको छैन । लियोन ट्रेडर्स प्रालाीको व्यापारको लागि भनी नगद र चेक मार्फत दिने गरेका हुन् । निजले दिएको रकम कम्पनीको खातामा जम्मा भएको छ । टोपबहादुर रायामाझीले शरणार्थी बनाइ पठाइदिन्छु भनी रकम लिएको भन्ने कुरा गलत हो ।
लिबोन ट्रेडर्स प्राली नामको कम्पनीको साबिक नेपाल ईन्भेष्टमेन्ट बैंक र मेघा बैंकमा खाता सञ्चालन थियो, हाल नेपाल इन्भेष्टमेन्ट मेघा बैंकमा, नविल बैंक, माछापुच्छ्रे बैंकमा खाता सञ्चालन छ, उक्त खाताहरू लियोन ट्रेडर्स प्रालीको नाममा नै खाता सञ्चालन रहेको छ ।
निज प्रतिवादी सानु भण्डारीले म आफू पुनः कम्पनीमा रही काम गर्छु भनी कम्पनीको लागि मलाई रु.२०,००,०००/– (बिस लाख) को दरले २ पटक गरी २/३ महिनाको अवधिमा रु.४०,००,०००।– (चालिस लाख) दिएका हुन्, उक्त रकम दिँदा निजले चेकमार्फत नै दिएका हुन् ।
निजले दिएको चेक मैले मेरो नाममा रहेको माछापुच्छ्रे बैंकमा रहेको खाता नं.मा जम्मा गरी पुनः सो खाताबाट निकाली कम्पनीको खातामा जम्मा गरेको हुँ । निजले दिएको अर्को रु.२०,००,०००/– (बिस लाख) को चेक मैले कम्पनी के खातामा जम्मा गरेको हुँ । शरणार्थीको विषयमा थाहा भएन । निजले कम्पनीमा शेयर होल्डरको रूपमा पहिलेबाट रहेका सरोज बुढाथोकीलाई शेयर होल्डरबाट हटाइ मलाई शेयर होल्डरको रूपमा राख्नु भनी सर्त राखेको र सोही सर्त पालना गर्नेगरी निजले उक्त रकम मलाई दिएकोमा सरोज बुढाथोकी कम्पनीको शेयर होल्डरबाट हट्न नमानेको हुँदा निजलाई शेयर होल्डरको रूपमा आबद्ध गराउन नसकिएको हो ।
निजबाट लिएको रकममध्ये निजले टायल मार्बल खरिद गर्न पठाएका निजका व्यक्ति र निजले सामान लगेको हुँदा अं.रु.१५,००,०००/– (पन्ध्र लाख) जति हिसाब मिलान भइसकेको र बाँकी रहेको रु.२५,००,०००– (पच्चिस लाख) बजारमा रहेको उधारो रकम उठेपछि दिने भन्ने निज र कम्पनीबीच सहमति भएको थियो ।
निज सानु भण्डारी मेरो कम्पनीमा विगत ४ वर्षदेखि सिआइओ भएर किन आउनु भयो, सो को प्रमाण मसँग छ । मेरो बयान झुट्टा होइन । सो विषयमा सबै विवरण मलाई जानकारी भएन, मेरो बुबा टोपबहादुर रायामाझी संसद्को सदस्य भएको कारण वार्षिक रूपमा बुबाले सम्पति विवरण बुझाउने गर्नु भएको हुँदा सोहीबाट विवरण झिकाइ बुझ्न सकिन्छ भन्ने व्यहोराको प्रतिवादी सन्दीप रायमाझीको बयान कागज ।













