काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैङ्किङ क्षेत्रमा समस्या नभएको बताएका छन् । यो क्षेत्रलाई अझ व्यवस्थित गरेर लैजान सकिने पनि उनले बताए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैङ्किङ क्षेत्रमा समस्या नभएको भन्दै एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए ।
उनले भने, ‘मार्केटले पैसा नचलाएको कारणले हामीले एक प्रतिशतमा बैङ्कबाट डिपोजिट अक्सन गरेर लिनुपर्यो । ब्याजदर महँगो भयो अनि नचलाएको भन्न त पाइएन नि । बजारमा अर्थको क्रियाकलाप त बढ्न पर्यो, काम गर्न सक्नुपर्यो नि । ब्याजदर त धेरै तल आइसकेको छ । एक आपसमा जुन खालको दोषारोपण गरेर पन्छने चलन छ यसबाट हामी बाहिर आउनुपर्यो ।’ उनले थपे, ‘एकदम क्यान्डिड रुपमा भन्दिनुहोस् मनिटरी पोलिसीलाई अथवा मनिटरी कमिटीलाई जुन दोष दिइरहनुभएको छ, कुनचाहिँ बुँदा कस्तो हुनुपर्थ्यो?’
उनले बैङ्किङ क्षेत्रलाई अझ व्यवस्थित गर्न सकिने उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘बैङ्किङ क्षेत्रमा समस्या छैन । व्यवस्थापन गर्न सकिने अवस्था छ ।’ आर्थिक क्षेत्रमध्ये फिस्कल पोलिसीमा समस्या भएपनि अन्य क्षेत्रमा समस्या नभएको उनले बताए । आन्तरिक उत्पादन वृद्धि नहुँदा अर्थतन्त्र आयातमा निर्भर हुनुपरेको उनको भनाई छ । उनले मौद्रिक नीतिको पहिलो समीक्षा गर्न लागेको उल्लेख गर्दै त्यसका लागि ढिला नभएको पनि उल्लेख गरे । अधिकारीले भने, ‘हामी प्रोभिजनल डेटाले थप सपोर्ट गर्छ कि भनेर पर्खिरहेका छौं । कयौं साथीहरूले नीतिको समीक्षा गर्न ढिला भैसक्यो, समीक्षा नगरे आकासै खस्ने हो कि भनेर लेख्न थालिसक्नुभयो । समीक्षा नगरे पनि फरक पर्ने विषय होइन केही ढिलो गर्दा आकाश खस्दैन तर हामी समीक्षा गर्छौ ।’