काठमाडौं— साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । गत सोमबार, मंगलबार र बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १५ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।