काठमाडौं— नेपाल एअरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौं मै छाडेको छ ।
प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरू छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एअरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई गएका थिए । त्यही जहाजमा टिकट काटेका ३१ यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरूलाई ज्ञानेश्वरस्थित एक होटलमा राखिएको छ ।
यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एअरलाइन्सले जनाएको छ ।
प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एअरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो । तर उडान तालिका अघि सरेको जानकारी नेपाल एअरलाइन्सले नगराउँदा एअरपोर्ट पुगिसकेका यात्रुहरू पनि फर्किन बाध्य भएका थिए ।
नेपाल एअरलाइन्सका कर्मचारीले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने आश्वासन दिएको छ । नेपाल एअरलाइन्सले पूर्वनिर्धारित मिति र समयमा नउडाउँदा दुबईमा पहिल्यै होटल बुक गरेका र काममा खटिनुपर्ने समस्यामा परेका छन् ।