News Griha :: न्यूजगृह
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाने
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् । सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ ।

प्रधानमन्त्री डिसेम्बर १–२ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन्। डिसेम्बर २ मा उनले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन् । उनी यूएईले आयोजना गर्ने ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने मन्त्रालयले बताएको छ ।

सम्मेलनको ‘साइड लाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्च पदस्थ व्यक्तिसँग वार्ता गर्नेछन् ।प्रधानमन्त्रीले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । यस्तै नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । 

प्रचण्डसँग छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री विरेन्द्रप्रसाद महतो र अन्य सरकारी अधिकारी पनि यूएई जानेछन् । प्रधानमन्त्री मंसिर १७ गते स्वदेश फर्किने तय भएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०७:०२
Weather Update