काठमाडौं— कोशी प्रदेश सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सभा बैठकमा भएको छलफलमा बोल्ने क्रममा उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका हुन् । प्रदेश सभाको सोमबारको बैठकका सहभागी सांसदले उक्त विधेयकको छलफलमा सहभागी भएका थिए । मंगलबार पनि यसबारे छलफल जारी रहने छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा अध्यादेशबाट आएको विनियोजन विधेयकलाई प्रतिस्थापन गर्ने विनियोजन ऐन २०८० गत शनिबार प्रदेश सभामा पेस गरेका थिए ।
छलफलमा सहभागी सांसदहरुले नयाँ योजना छनौट र अध्यादेशमा राखिएका योजना कटौती बारे आपत्ति जनाएका छन् । अघिल्लो सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ गते जारी गरेको अध्यादेश बजेटमा ५० करोड रुपैयाँ थप गर्दै मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक ल्याएका हुन् । उनले ल्याएको विधेयकमा पहिलेका कार्यक्रमहरू कटौती गरेको भन्दै सांसदहरू असन्तुष्ट बनेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बजेटमाथि एमाले संसदीय दलले गम्भीर असहमति जाहेर गरेको जानकारी दिए । कार्यक्रम पुस्तिकामा राखिएका कार्यक्रम र योजना हटाइदिएकामा उनले आफूहरूको असन्तुष्टि रहेको बताए ।
एमाले सांसद सिर्जना राईले बजेट हचुवाका भरमा ल्याइएको टिप्पणी गरिन् । यस्तै, सांसद कमला दर्नालले आफूहरूले पेश गरेका योजना काटिएको भन्दै आपत्ति जनाइन् । सत्तापक्षकी सांसद खिनु लङ्वा लिम्बूले विनियोजन ऐन २०८० मा उद्देश्य नभएको, प्राथमिकीकरण नगरेको टुक्राटुक्री योजना मात्रै आएको भन्दै असन्तुष्टि जनाइन् ।