News Griha :: न्यूजगृह
स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग

काठमाडौं— चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।

‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानूनी र खेदपूर्ण कार्य हो’ डा. केसीले भनेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्ड जीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हो ।  निजलाई तत्काल पदमुक्त गरियोस् ।’ 

शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी ठीक भए पनि उनलाई गिरोहले सञ्चालन गरिरहेको आसयले धारणा राखेका थिए । स्वास्थ्यमन्त्री बस्नेतको उक्त भनाइ बाहिरिएपछि डा. केसीले आइतबार विज्ञप्तिमार्फत आरोप खण्डन गर्नुका साथै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

यस्तै, केसीले चिकित्सा शिक्षा आयोग बनेको पाँच वर्षकै अवधिमा सन्तोषजनक रुपमा काम गरिरहेको बताएका छन् ।अधिकांश ग्रामीण क्षेत्रका मानिसहरू स्वास्थ्य सेवाबाट बञ्चित भएको, निःशुल्क औषधि सेवा उपलब्ध हुन नसकेको, हजारौं स्वास्थ्यकर्मीहरू बेरोजगार रहेको, श्रम शोषण रहेको, सरकारी स्वास्थ्य संस्थाको सङ्ख्यामा खासै वृद्धि नभएको, चार दशकअघिकै दरबन्दीमा स्वास्थ्य केन्द्र र अस्पताल सञ्चालन गर्ने बाध्यता रहेको डा. केसीले उल्लेख गरेका छन् ।

उनले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज वा प्रतिष्ठान २०८० सम्म निर्माण कार्य सम्पन्न गरी सञ्चालन आइसक्नुपर्नेमा त्यसलाई समेत रोकिएको, सरकारी प्रादेशिक अस्पतालहरू नर्सिङलगायतका कार्यक्रमहरू सञ्चालन गर्न मापदण्ड यथेष्ट पूरा भए पनि वास्ता नगरिएको भन्दै  स्वास्थ्यमन्त्रीलाई ती कामहरू गर्न समेत आग्रह गरेका छन् ।

तर, स्वास्थ्यमन्त्रीले यी चुनौतीहरू सम्बोधन नगरेर मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालनमा रहेको शिक्षालयलाई सम्बन्ध दिन दबाब दिएको डा. केसीको आरोप छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:०१
Weather Update