काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बईमा आयोजित चौथो आईसीसी इमार्जिंग एसिया इन्स्योरेन्स कन्क्लेभ तथा अवार्ड ,२०२३ समारोहमा नेपालको जीवन बीमा उद्योगमा उत्कृष्ट प्रदर्शनबाट सम्मानित गरिएको छ ।
बिहीबार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो । कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरूलाई मूल्याङ्कन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो । उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्रहण गरेका थिए ।
चौथो आईसीसी इमार्जिंग एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ पीडब्लूसी भारतको सहकार्यमा गरिएको हो । संसारमै लब्धप्रतिष्ठित परामर्शदाता पीडब्लूसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरूको कार्यसम्पादन गर्ने प्रक्रियालाई समीक्षा गर्दै कम्पनीहरूलाई विभिन्न विधामा सम्मानित गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारी वर्ग, अभिकर्ता वर्ग, नियामक निकाय, शेयरधनी तथा नेपाल लाइफसँग आबद्ध समस्त सेवाग्राहीहरूलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार प्रकट गरे ।