काठमाडौं— नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट शेयर बिक्री सुरु भएको छ ।
सर्वोत्तम सिमेन्टले बुधबारबाट बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गरेको हो । कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता शेयर जारी गरिरहेको हो । २४ लाख कित्ता शेयर कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता शेयरको ४० प्रतिशत हो ।
कम्पनीले संस्थागत योग्य लगानीकर्तालाई ४ सय १ रुपैयाँदेखि ६ सय १ रुपैयाँको दरमा शेयर जारी गरेको छ । यसमा संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन् ।
बोलकबोलमा आवेदन दिएको अधिकतम मूल्य र सो अनुसारको कित्ता शेयर बाँड्दै जाँदा जुन मूल्यमा पुगेर शेयर संख्या सकिन्छ, त्यही मूल्य 'कट अफ प्राइस'का रूपमा रहन्छ । बोलकबोल मंसिर १० गतेसम्मको लागि खुला गरिएको छ ।
यसरी बोलकबोल गरेको शेयर संस्थागत लगानीकर्ताले खरिद गर्नैपर्छ । यसभन्दा अघि पनि संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ प्रक्रियाबाट कम्पनीको मूल्य निर्धारणका लागि कम्पनीको शेयर मा बोलकबोल गरेका थिए ।
यसरी पहिले गरेको बोलकबोल प्रक्रियामा सहभागी हुन कम्पनीले मूल्य दिएको हुन्छ । त्यो समय बोलकबोलमा भाग दिएर मूल्य निर्धारण गरिने भए पनि शेयर भने बाँडफाँड गरिएको हुँदैन ।
सर्वोत्तमले सुरुमा ५ सय १ देखि ७ सय ५१ रुपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो । त्यसमा भएको बोलकबोलबाट ४ सय १ देखि ६ सय १ रुपैयाँसम्म निर्धारण भएको हो ।
अब संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा भने निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गरिन्छ ।
दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता शेयर जारी हुनेछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। सर्वोत्तम कम्पनीले बुक बिल्डिङ प्रक्रियामा आईपीओ जारी गर्न २०७९ असारमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
यसअघिका स्वार्थ बाझिने गरी बोर्ड अध्यक्ष लगायतले कम्पनीको शेयर खरिद गरेपछि यो कम्पनीको शेयर विवादमा परेको थियो । र, शेयर जारी प्रक्रिया लम्बिएको थियो । हाल धितोपत्र बोर्डबाट एक सय ३५ भन्दा धेरै संस्थाले संस्थागत योग्य लगानीकर्ताको अनुमति पाएका छन् ।