News Griha :: न्यूजगृह
दाङमा धान उत्पादन बढ्यो

दाङ— दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ । 

घोराही उपमहानगरपालिका–६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताए ।

'यसवर्ष ब्याड राखेको समयमै रोप्ने वातावरण बन्यो । पानीको समस्या नभएकाले रोपाइँ समयमा भएको थियो,' उनले भने, 'हाइब्रिड धान रोपेका थियौँ । त्यसैले पनि धान उत्पादनमा वृद्धि भएको हो ।' 

घोराही–५ धर्नाका मनोज चौधरीले ‘युएस तीन सय १२’ जातको धान लगाउनु भएको थियो । 'गतवर्ष १५ कट्ठा खेतमा ६० मुरी धान फलेकामा यसवर्ष सोही जमिनमा ७० मुरी धान फलेको छ,' उनले भने, 'गतवर्ष उत्पादन भएको धाएर सकिएको थियो । यसवर्ष पाँच क्विन्टल बिक्री गरेको छु । समयमा रोपाइँ गरेकाले धान उत्पादन बढेको हो ।'

रोपाइँ गरेदेखि पसाउँदासम्म धानलाई आवश्यक मात्रामा पानी पुगेकाले उत्पादन बढेको मनोजको भनाइ थियो । हाइब्रिड जातको बीउ, समयमा पानी पर्नु, मल समयमा पाउनुलगायत कारणले उत्पादन बढेको केन्द्रले जनाएको छ । जिल्लामा यस वर्ष ३५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा नौ दशमलव ७५ प्रतिशतले उत्पादनमा वृद्धि आएको केन्द्रका कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार यस वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:४६
Weather Update