News Griha :: न्यूजगृह
रुकुम पश्चिममा जीप दुर्घटना, दुईको मृत्यु

रुकुमपश्चिम— रुकुम पश्चिममा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बुढा छन् ।  

बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए । 

उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृह मन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए ।

सोमबार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गोइरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गोइरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । 

घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:५५
Weather Update