News Griha :: न्यूजगृह
तिहारमै बिक्री भएन फूल, किसान निराश 

कञ्चनपुर— फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूलखेती गरिरहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए । 

'फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन,' उनले भने, 'अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैन ।' बजारमा प्लास्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूलखेती गर्दै आएका छन् । उनले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूलखेती गरे । उनका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ । उनले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गरेका थिए। फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ । जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ ।
 
स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लास्टिक मालामा रोक लगाएको छ । प्लास्टिकजन्य फूल गुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

दीपावली, नेपाल संवत् तथा छठपर्व लगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभासमारोहमा प्लास्टिक फूल गुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । दोस्रो ठूलो चाड तिहारको हर्षोल्लास गाउँसहरमा छाएको छ ।

घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ती भएका छन् । बारीमा फूल ढकमक्क फुलेका छन् । तिहारमा घर सिङ्गार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटीकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०७:३०
Weather Update