News Griha :: न्यूजगृह
उपरथी पाण्डेको राजीनामासँगै नयाँ प्रधानसेनापतिको रोलक्रममा आए उपरथी सिग्देल
उपरथी दर्जामा पदोन्नति भएका अशोकराज सिग्देल, तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाबाट दर्ज्यानी चिन्ह लगाउँदै । फाइल तस्बिर 

काठमाडौं— नेपाली सेनाका वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएसँगै अर्का उपरथी अशोकराज सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका छन् । 

रथी दर्जामा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको छ । छानबिनकै क्रममा उपरथी पाण्डेले बिहीबार राजीनामा दिएका हुन् ।

पाण्डेको राजीनामा जंगी अड्डाले शुक्रबार रक्षा मन्त्रालयमा पठाएको थियो । बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागेको थिएन ।

वरिष्ठताका आधारमा उपरथी पाण्डे नयाँ प्रधानसेनापतिको दाबेदार थिए । तर उमेरमाथि प्रश्न उठेपछि सेनाभित्रै छानबिन अघि बढेको हो । सोही क्रममा उपरथी पाण्डेले राजीनामा दिएका हुन् । पाण्डेले राजीनामा दिएसँगै अब नयाँ बन्ने प्रधानसेनापतिको लाइनमा उपरथी सिग्देल आएका हुन् ।

पाण्डेले राजीनामा दिएसँगै उपरथी सिग्देल स्वत सेनामा वरिष्ठ उपरथी भएका छन् । रिक्त रथी पदमा उनी बढुवा भए एक वर्षपछि उनी प्रधानसेनापति बन्नेछन् । सैनिक सेवा नियमावली अनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ ।

जंगी अड्डाले पाण्डेलाई रथीमा बढुवा सिफारिस गर्दै गत असोज ३० मा ७ दिने उजुरी आह्वान गरेको थियो । सिफारिसमा परेसँगै पाण्डेको जन्ममिति २०२१ र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आए । सैनिक उच्च स्रोतकाअनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको दाबी गरेका छन् ।  

प्रधानसेनापति शर्माको ३ वर्षे कार्यकाल आगामी भदौ २४ मा सकिँदै छ । त्यसपछि वरिष्ठताका आधारमा अब सिग्देल नै प्रधानसेनापति बन्ने छन् । सिग्देल २०७६ असोज १७ गते उपरथी दर्जामा बढुवा भएका हुन् । उनीसँगै गोकुल भण्डारी उपरथीमा बढुवा भएका थिए । तर भण्डारी अवकाशमा गइसकेका छन् ।   

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०७:४५
Weather Update