News Griha :: न्यूजगृह
डलर सञ्चिति १६ खर्ब ४३ अर्ब पुग्यो

काठमाडौं— विदेशी विनिमय सञ्चिति बढेको छ । चालू आवको तीन महिना (असोज)सम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले बढेर १४ खर्ब ३३ अर्ब ३६ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले बढेर २ खर्ब ९ अर्ब ७३ करोड कायम भएको छ।

२०८० असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:२५
Weather Update