News Griha :: न्यूजगृह
तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

चितवन— फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय तय गरेको हो ।

निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए । उनका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूलखेती गरिएको छ ।

यसबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उनको भनाइ छ ।  छिमेकी जिल्लाबाटसमेत माला र फूल चितवनको बजारमा आउने गरेको छ ।

धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उनको भनाइ छ । साथै भारतबाटसमेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्प विकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उनले बताए । 

सङ्घका सचिव सुलभ श्रेष्ठले गतवर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूलखेती गरिएकोमा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिए । व्यावसायिक रुपमा खेती गर्ने किसान आठजना रहेकोमा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उनको भनाइ छ ।

प्लास्टिकजन्य फूलमालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:०४
Weather Update