News Griha :: न्यूजगृह
शेयर बजारमा २१ अङ्कको वृद्धि, कारोबार रकम ९३ करोडमा सीमित

काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २१ अङ्कको वृद्धि भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.१६ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८४७ अङ्कमा पुगेर रोकिएको छ ।

यसक्रममा १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । यता ६ कम्पनीको शेयर मूल्यमा भने कुनैपनि परिवर्तन भएको छैन । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ । ९३ करोड ८९ लाख रुपैयाँको कारोबार हुँदा ३५ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ ।

हिजो परिसूचक २१ अङ्कले नै घटेको थियो । यस्तै, ९७ करोड रुपैयाँको कारोबार भएको थियो । जुन, आजको तुलनामा ४ करोडले बढी हो । हाथवे इन्भेष्टमेन्ट लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने ४.२८ प्रतिशतको गिरावट आएको छ । 

परिसूचक बढेको दिन सबै १३ वटै समूहको सूचकमा उत्साहजनक वृद्धि देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २२१ अङ्कले र टुरिजम समूहको सूचक १८१ अङ्कले बढ्दा जीवन बीमा समूहको सूचकमा ११३ अङ्कको वृद्धि देखिएको छ । यस्तै, व्यापार समूहमा समेत ६९ अङ्कको वृद्धि आएको छ ।

आज सोल्टी होटल लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ६ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको ५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:३२
Weather Update