काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र उद्यमी व्यवसायीलाई जलविद्युतको आग्रह गरेका छन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहनेका लागि महत्वपूर्ण अवसर रहेको राष्ट्रपति पौडेलले चर्चा गरेका छन् ।
आजदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’को ३७ औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायलाई उर्जा उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
पौडेलले भने, ‘नेपालमा लगानीको अवसरहरू बढ्दै गएका छन् । लगानी सहज बनाउने कानुनहरू निर्माण भैसकेका छन । अब भारत र बंगलादेश नेपाली विद्युतको बजार बन्दैछ । विद्युत व्यापारका क्षेत्रमा पछिल्लो समय भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न म सबैलाई आह्वान गर्दछु ।’
साथै उनले नेपालको पर्यटन, कृषि, सूचना प्रविधिलगायतका क्षेत्र पनि लगानीको प्रचुर सम्भावना भएको क्षेत्र रहेको भन्दै उक्त क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे ।
‘प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ । यसमा आज हुने लगानीले भोलि प्रतिफल दिनेछ । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा लगानी योग्य सम्भावना भएका अन्य क्षेत्र हुन् । यी क्षेत्रमा लगानी बढाउन सबैलाई भविष्यलाई दिगो, नवीन र समृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्दछु’ पौडेलले भने ।
काठमाडौंमा आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ ।