News Griha :: न्यूजगृह
तारा एअरका क्याप्टेन श्रेष्ठले हानेका थिए वरिष्ठ क्याप्टेन शाहलाई थप्पड

काठमाडौं—रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल घटना प्रहरीकोमा पुगेको छ ।

शुक्रबार बिहान काठमाडौं कोटेश्वर घर भएका तारा एअरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एअरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानेका थिए । वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले भने, 'आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौँला भन्नुभएको थियो ।' प्रहरीले यस विषयमा अनुसन्धान  गरिरहेको छ । 

दुई पाइलटबीच झगडाको कारण अझै बाहिर आएको छैन । घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ । उनीहरूको लाइसेन्स प्राधिकरणले निलम्बन गरेको छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:०२
Weather Update