
धनगढी— कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपक्षीमा रेबिज तीब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायाको संख्या समेत बढ्न थालेको छ ।
‘कैलालीको गौरीगंगा र धनगढीमा रेबिज संक्रमण भएका पशु चौपाया भेटिएका छन्,’ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा नरेश जोशीले भने, ‘कञ्चनपुरमा यसको संक्रमण उच्च रुपमा देखिएको छ, रेबिजका कारण पशु मरिरहनेक्रम पनि कञ्चनपुरमै उच्च रहेको छ ।’
उनका अनुसार हालसम्म कञ्चनपुरको पुनर्वास नगरपालिका– १ मा एउटा भैँसी, एक बाख्रा, शुक्लाफाँटा नगरपालिकामा एउटा कुकुर, भीमदत्त नगरपालिकाका विभिन्न वडामा कुकुर, बाख्रा, गाई, लालझाडी गाउँपालिकामा कुकुर लगायत धेरै पशुपन्छी रेबिज रोगका कारण मरेको पुष्टि भएको छ । ‘कार्यालयमा रेबिजका कारण पशुचौपाया मरेको थोरैमात्रै तथ्याङ्क आएको छ,’ जोशीले भने, ‘तर पछिल्लो एक डेढ महिना यता रेबिजका कारण मात्रै ५ सय भन्दा बढी पशु चौपाया मरेको हाम्रो आकलन रहेको छ ।’
कैलालीको धनगढी र गौरीगङ्गाको एउटा-एउटा बाख्रामा पनि रेबिज पुष्टि भएको प्रयोगशाला प्रमुख जोशीले बताए । उनले पशु चौपायामा रोगको संक्रमण देखिएपछि त्यसको कुनै औषधि नभएको समेत बताए । ‘रोग नियन्त्रण गर्ने एउटै उपाय रोग लाग्न पूर्व नै पशुचौपायामा रेबिजविरुद्धको खोप लगाउनु हो,’ प्रयोगशाला प्रमुख जोशीले भने, ‘रोग लागिसकेपछि त्यसलाई निको पार्ने कुनै औषधि अहिलेसम्म पत्ता लागेको छैन, रोग लागेको चौपाया मरिहाल्छ ।’
उनले रेबिजको संक्रमण बढ्न थालेपछि २४औं घण्टा प्रयोगशालामा रोगको परिक्षण हुने गरेको बताए । ‘श्रोतसाधन न्यून हुँदा पनि कर्मचारी जिम्मेवारीपूर्ण तरिकाले काम गरिरहनुभएको छ,’ उनले भने, ‘अहिले २४औं घण्टा प्रयोगशालामा हामी काम गरिरहेका छौं, अत्यावश्यक सेवाका लागि पशु एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ ।
रोग लाग्न नदिन के गर्ने ?
पशुपन्छीमा रेबिज रोग लाग्न नदिन खोप लगाउनु एक मात्र विकल्प भएको पशुपन्छी अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा नरेश जोशीको भनाइ छ । ‘रोग लागिसकेपछि यसको औषधि अहिलेसम्म पत्ता लागेको छैन,’ जोशीले भने, ‘त्यसैले सबैले आफ्ना पशु चौपायामा रेबिजविरुद्धको खोप लगाउनु अपरिहार्य छ ।’
रेबिज रोग खास गरी स्याल र संक्रमित कुकुरको टोकाईबाट सर्ने गर्दछ । त्यसैले सबैले आफ्नो घरमा पालेका कुकुरलाई रेबिजविरुद्धको खोप अनिवार्य लगाउन उनले सुझाव दिएका छन् । त्यसैगरी सडकमा रहेका सामुदायिक कुकुरमा पनि खोप लगाउनु अनिवार्य भएको डा जोशीको भनाई छ ।
‘कुकुर वा स्यालले पशु चौपायलाई टोकेको खण्डमा तत्काल ती पुशुमा खोप लगाउन उनले सुझाव दिएका छन् । कुकुर वा स्यालले टोक्दा र्यालमा रेबिजको किटाणु देखिएको अवस्थामा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले निशुल्क खोप लगाउने कार्यक्रम रहेको उने बताए । त्यसैले पशुपंछीलाई कुकुर वा स्यालले टोकेको खण्डमा तत्काल पशुपन्छी रोग अन्वेषण कार्यालयमा खबर गर्न उनले अनुरोध समेत गरेका छन् ।
अहिले गोठमै पशुमा रोग भए नभएको पत्तालगाउने प्रविधि भित्रिएको छ,’ उनले भने, ‘त्यसैले पहिला जस्तो रेबिज पत्तालगाउन प्रयोगशालामै आउनुपर्ने अवस्था छैन, त्यसैले किसानले पपशुपंछीमा रेबिज जस्तो लक्षण देखिएको खण्डमा तत्काल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला वा स्थानीय पालिकाको पशु शाखामा जानकारी गराउन अनुरोध छ ।
के हो रेबिज, कसरी सर्छ ?
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा दिमागसम्म पुग्छ । दिमागमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा दिमागका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्छ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्को जनावारको शरीरमा प्रवेश गर्छ ।
रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
लक्षण
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ ।
बिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ । त्यसैगरी पशु चौपायामा बौलाउने, झोक्राउने, र्याल चुहाउने जस्ता लक्षण देखिएमा रेबिज रोग हुन सक्छ । त्यस्तो लक्षण देखिएका मानिस वा पशुलाई छुट्टै स्थानमा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुदूरपश्चिममा एउटा मात्रै रहेको छ । धनगढीमा रहेको प्रयोगशालाले कैलाली, कञ्चनपुरमा अहिले जसोतसो सेवा दिँदै आएको छ । कार्यालयमा हाल तीन पशु विशेषज्ञ डाक्टर प्राविधिक कर्मचारी कार्यरत रहेका छन् । अत्यावश्यक सेवाका लागि प्रयोगशालामा पशु एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ ।
तर, बजेट अभावका कारण भने काम गर्न सकस भइरहेको प्रयोगशालाका प्रमुख जोशी बताउँछन् । ‘संघीय सरकारले अहिले सबै योजना तथा कार्यक्रमको बजेट कटौती गरेको छ,’ कार्यालय प्रमख डा। जोशीले भने, ‘जसका कारण स्रोतसाधनको समस्या हुन थालेको छ, अहिलेसम्म जसोतसो काम गरिरहेका छौं, आगामी दिनमा के हुन्छ भन्न सकिदैन ।’ अहिले पनि कतिपय अवस्थामा कर्मचारीले आफ्नो व्यक्तिगत खर्च बेहोरेर फिल्डमा जानुपर्ने अवस्था रहेको उनले बताए ।