
काठमाडौं— बारा प्रहरीले रूपेश स्वर्णकारको हत्या प्रकरणमा प्रेम सम्बन्ध देखाएर सार्वजनिक गरेका धारणाप्रति मृतकको परिवारले आपत्ति जनाएको छ ।
पीडित परिवारले बुधबार प्रेस विज्ञप्ति जारी गरेर प्रेम सम्बन्धलाई देखाएर पीडित परिवारको चरित्र हत्या गर्न खोजेको आरोप लगाएको हो । जिल्ला प्रहरी कार्यालयको भनाइप्रति असन्तुष्टि जनाउँदै सत्य तथ्य प्रमाणसहित न्याय पाउनका निम्ति आम नागरिक समाज, सञ्चारकर्मी, उद्योग व्यवसायी तथा सङ्घ संस्थाहरूमा सहयोगको अपिल गर्दछौँ’ पीडित परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिना प्रमाण चरित्र हत्या गर्ने काम भयो ।’
सोमबार दिउँसो बाराको सदरमुकाम कलैया भरत चोक नजिकै बाल एकता इङ्गलिस बोडिङ स्कुलका सञ्चालक रूपेशको गोली हानी हत्या भएको थियो । घटनाको ३ दिनपछि प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर रूपेशको हत्या विगतमा आफ्नै विद्यालयमा कार्यरत लेखापाल राधा गुप्तासँगको प्रेम सम्बन्धका कारण भएको जनाएको थियो ।
बारा प्रहरीको पत्रकार सम्मेलनपछि मृतकका परिवारले सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रहरी अनुसन्धानले चरित्र हनन मात्रै गरेको र त्यो कुरा गलत भएको आरोप लगाएको छ । मृतकका दाजु भोलाले परिवार शोकमा भएको अवस्थामा नियोजित ढङ्गबाट भएको हत्या घटनालाई प्रेम सम्बन्धसँग जोडेर प्रहरीले अनुसन्धानलाई फितलो बनाउन खोजेको आरोप लगाए ।
‘प्रहरीले भनिरहेको प्रेम सम्बन्धको तर्कमा कुनै सत्यता छैन, त्यो सरासर प्रहरीको पन्छिने काम मात्रै हो, भाइको कसैसँग प्रेम सम्बन्ध थिएन,’ मृतका भोलाले भने, ‘कसैले पुष्टि गरिदियो भने हामी सजाय भोग्न तयार छौँ, प्रहरीले जबरजस्ती प्रेम सम्बन्धको कुरा देखाएर घटना मोड्ने काम गरिरहेको छ ।’
प्रहरीले गलत सूचना दिएर भ्रम फैलाइरहेको गुनासो गर्दै उनले परिवारको बदनाम नगर्न आग्रह गरे । रूपेशको हत्या घटनामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
उनको हत्यामा सहयोगी भूमिका रहेको भन्दै भारत विहारका अभिनवकुमार राजपुत, चन्दन कुमार र बारा कलैयाका रियाज अन्सारी तथा जामिल अख्तर तथा प्रेमिका भनिएकी राधा गुप्तालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
बाराका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले पक्राउ परेकाहरूबाट सहयोगी भूमिका मात्रै रहेको र सुटर भने फरार रहेको बताएका छन् । उनका अनुसार पक्राउ परेकाहरूले मुख्य सुटरलाई सूचना आदानप्रदान गर्ने काम मात्रै गरिरहेका थिए । तर मुख्य सुटर भने अहिलेसम्म पक्राउ नपरेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
‘घटनामा सहयोगी भूमिका निर्वाह गर्नेहरू मात्र अहिले पक्राउ परेका छन्, बाँकी मुख्य योजनाकार र सुटरको खोजी भइरहेको छ,’ उनले भने ।













