News Griha :: न्यूजगृह
प्रिन्सिपल रूपेशलाई गोली हान्न पेसेवर सुटर प्रयोग, हत्यामा संलग्न सार्वजनिक

काठमाडौं— बाराको कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता इङ्गलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

कलैया उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, सोही उपमहानगरपालिका-९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाँउ बहार्वाकाला-१२ बस्ने २३ वर्षीय अभिनवकुमार राजपुत प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटी बयोधा हस्पिटल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।

उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अन्सारी सहयोगी तथा चन्दनकुमार र अभिनवकुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार रूपेशको हत्या प्रकरण रिसइबीका कारण हुन पुगेको हो ।

रुपेशलाई गोली हान्ने व्यक्ति पेसेवर सुटर रहेको पनि प्रहरीले जनाएको छ ।  घटनामा संलग्न भारत मोतिहारी दर्पा थाना-१ सुक्लहिया बस्ने २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी फरार छन् ।

उनीहरूको खोजी भइरहेको एसपी काफ्लेले बताए । 

goli-1698834005.jpg

goli2-1698834005.jpg

3-1698833385.jpg

4-1698833384.jpg

5-1698833385.jpg

1-1698833386.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:५६
Weather Update