काठमाडौं— सोमबार झिनो अङ्कले सकारात्मक बनेको नेप्सेको सुधार मङ्गलबारसम्म टिकेन ।
मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४.२९ अङ्कले घटेर १ हजार ८ सय ६४.४० अङ्कमा ओर्लेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.७६ प्रतिशतले कम हो ।
सोमबार नेप्से ३.०४ अङ्कले बढेर १ हजार ८ सय ७९.७० विन्दुमा बन्द भएको थियो । गत आइतबार भने नेप्से २८ अङ्कले घटेको थियो ।
उक्त दिन २५ हजार ६ सय २५ वटा कारोबारबाट २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच भएको छ । ती किनबेचमा ५७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गत आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको हो । गत सोमबार ६९ करोड ४२ लाख र आइतबार ७४ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ३८ वटा कम्पनीको घट्यो भने ७ वटाको शेयर मूल्य स्थिर छ । नेप्से परिसूचकमा कमी आएसँगै शेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेर २८ खर्ब ९४ अर्ब रुपैयाँमा सीमित भएको छ ।