News Griha :: न्यूजगृह
गुण्डा रिगलविरुद्धको मुद्दा खतिवडा, मल्ल र चुडालको इजलासमा

काठमाडौं— गुण्डा रिगल भनिने योगराज ढकाल विरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । 

बाँकेको नेपालगन्जमा रिगलसहितको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

२०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला अदालतको भएपनि संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।   

जम्मा ८ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा बाँकी कैदकट्टाविरुद्ध रिट दर्ता गराएकी हुन् । यो मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुनेछ ।   

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:५३
Weather Update