काठमाडौं— हिमालयन बैंकको विवाद फेरि अदालतमा पुगेको छ ।
बैंकको सर्वसाधारण शेयरधनी अनुपात राष्ट्र बैंकको नियमअनुसार ३० प्रतिशत पुर्याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो ।
हिमालयन बैंकको कुल शेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशत मात्रै छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ (१) र ९ (४) बमोजिम सर्वसाधारण सेयरधनीको कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट सञ्चालक चयन गर्न भन्दै हालका सञ्चालक मध्येका एकले मुद्दा दायर गरेका हुन् ।
मुद्दामा बैंकका केही निहित स्वार्थ भएका सञ्चालकहरूले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ ।
यसअघि पनि हिमालयन बैंकको सञ्चालक विवाद पटक पटक अदालतमा पुगेको थियो ।