News Griha :: न्यूजगृह
प्रिन्सिपल हत्या प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो 

काठमाडौं—  बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।

बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

पक्राउ पर्नेमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिका समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन ।

थप अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरिने डीएसपी न्यौपानेले बताए । 

मुख्य योजनाकारसहित ६ जना पक्राउ परेपछि यसअघि पनि स्वर्णकारको हत्याको योजना बनेको तथ्य खुलेको हो । उनीहरूले नै दोस्रो प्रयासमा स्वर्णकारको हत्या गर्न सफल भएको बयान दिएका हुन् ।

स्रोतका अनुसार प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा पनि स्वर्णकारको हत्या प्रयास गरेको बताएका छन्। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाए पनि त्यसबारेमा प्रहरीलाई खबर नगरेको स्रोतको दाबी छ । 

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको थियो । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

आपसी सम्बन्ध र रिसइबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:२०
Weather Update