News Griha :: न्यूजगृह
तनहुँमा साढे ६ हजारलाई डेँगु सङ्क्रमण

तनहुँ — जिल्लामा दैनिक डेँगु सङ्क्रमितको संख्या बढेको छ । दुई महिनाको अवधिमा ६ हजार ४८४ संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन् । कुल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा एक हजार ३८६ जना रहेका छन् । वडा नम्बर २ मा एक हजार ३२८ जना संक्रमित भएका छन् । हालसम्म यहाँ डेङ्गुबाट चारजनाको मृत्यु भएको छ ।

डेँगु सङ्क्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न परिपत्र गरिएको अधिकारीको भनाइ छ । उनका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ ।

स्थानीय अस्पतालको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीलाई उपचार गर्ने र जटिलता उत्पन्न हुन सक्ने भएमा बहुविशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी पठाउन सबै अस्पताललाई निर्देशन दिइएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०७:३०
Weather Update