News Griha :: न्यूजगृह
आयात बढ्दा निर्यात घट्यो

काठमाडौं— चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको थियो । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।  

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन  खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:०१
Weather Update