चितवन— सबैतिर दसैँको टीका लगाइरहँदा भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ । प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।
अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए ।
टीकाको दिन छ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएको थियो । यसैगरी नवमीका दिन २० जनाले बच्चा जन्माएकामा आठ जनाको शल्यक्रिया गरिएको थियो । अष्टमीका दिन १७ जनाले शिशु जन्माएकोमा चार जनाको शल्यक्रिया गरिएको थियो । फूलपातीका दिन यो सङ्ख्या ३४ जना पुगेको थियो । तीमध्ये सात जनाको शल्यक्रिया गरिएको प्रमुख पोख्रेलले बताए ।
काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह पछि सबैभन्दा धेरै सुत्केरी सेवा यही अस्पतालबाट लिने गरेका छन् । गत आर्थिक वर्षमा यो सङ्ख्या १२ हजार सात सय थियो । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ प्रसूति सेवाका लागि बिरामी आउने गर्दछन् । जिल्लामै पनि अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पन्न व्यक्तिले समेत प्रसूति सेवाका लागि भरतपुर अस्पताललाई रोज्ने गरेको प्रमुख पोख्रेलले जानकारी दिए।
यो विभागमा १२ विशेषज्ञ चिकित्सक, २५ नर्सिङ स्टाफसहितको अनुभवी समूह परिचालित रहेकामा ३० वर्षभन्दा लामो समयदेखि प्रसूति गराउँदै आएका अनुभवी नर्सिङ स्टाफसमेत रहेका छन् । यस अस्पतालमा अन्य समयमा दैनिक ५० हाराहारी शिशु जन्मने गर्दछन् । तीमध्ये ४० प्रतिशतको शल्यक्रिया हुँदै आएको छ ।
अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको छ । प्रसूतिका लागि अलग्गै शल्यक्रिया कक्ष छ । चौबीसै घण्टा शल्यक्रिया चलिरहेको हुन्छ । मेडिकल कलेज र केही अस्पतालले बाहेक अन्य अस्पतालले नियमित प्रसूति सेवा नदिएकाले पनि भरतपुर अस्पतालमा चाप बढी भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेक अन्य सेवासमेत दसैँमा नियमित गरिएको बताए ।
अस्पतालमा छ घण्टा डायलासिस सेवा रोकिए पनि अन्य सेवा भने सञ्चालन भइरहेको उनले उल्लेख गरे । सुपरिटेन्डेन्ट प्रा.डा. पौडेललका अनुसार अस्पतालमा कार्यरत एक हजार ४५ चिकित्सक कर्मचारीमध्ये आधाले दसैँमा काम गरेका र तीमध्ये सबैभन्दा बढी नर्सिङ स्टाफ रहेका थिए ।