News Griha :: न्यूजगृह
सर्‍यो एमालेको चियापान

काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्वनिर्धारित चियापान सारेको छ । यसअघि कात्तिक १४ गते चियापान गर्ने भनिएकामा भोलिपल्ट अर्थात् कात्तिक १५ गते गर्ने एमालेले जानकारी दिएको छ ।

‘एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १५ गते गरिने भएको छ,’ एमालेले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ गते आयोजना गर्ने निर्णय भएको छ ।’ 

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२:१५ बजेबाट सुरु हुने एमालेले जनाएको छ । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको एमालेले जानकारी दिएको छ ।

दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वका अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना साटासाट गर्छन् । सत्तारूढ दल नेपाली कांग्रेसले भोलि कोजाग्रत पूर्णिमाको दिन चियापान राखेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०७:१२
Weather Update