News Griha :: न्यूजगृह
घट्यो खसी, च्याङ्ग्राको मूल्य

भक्तपुर— भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका छन् ।

दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् ।    

दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा दुई सय ५० रुपैयाँले घटाएको व्यापारी बताउँछन् । च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० मा बिक्री भइरहेको छ । बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो ९०० मा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो एक हजार १०० मा बिक्री भइरहेको छ ।  

तयारी च्याङ्ग्रा मासुको मूल्य पनि घटेको छ । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ८०० मा व्यापारीले बिक्री गर्दै आए पनि आजबाट दुई हजार ५०० मा बिक्री गर्न थालेको व्यापारीले बताएका छन् । उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ ।

व्यापारीहरूले खसी आजबाट प्रतिकिलो ६०० मा बिक्री गर्न थालेका छन् । यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १४:२६
Weather Update