News Griha :: न्यूजगृह
दसैँमा मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

म्याग्दी— मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  २३ करोड मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि ५ हजार ७५५  च्याङ्ग्रा निकासी भएको जानकारी दिए ।

'जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङ्ग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,' उनले भने 'कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ ।'

मुस्ताङका कृषकले पालेका ४ हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्ग्रा निकासी भएको उनले बताए । गत असोज २० देखि यही कात्तिक १ गतेसम्म च्याङ्ग्रा निकासी भएको थियो ।

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङ्ग्रा खरीद गर्नका लागि व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगेका थिए । 

कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । तीन देखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडिबुटीहरू खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरूको अनुभव छ । दसैँ तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ ।

मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । ६५  ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङ्ग्रा पालेका छन् । हिमचितुवा, ब्बाँसो र जंगली कुकुर च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्ग्राको मूल्य २५ हजार रुपैयाँ थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङको च्याङ्ग्राको मूल्य बढेको व्यापारी बाबुराम बानियाँले बताए । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:१४
Weather Update