News Griha :: न्यूजगृह
नेपाल वायुसेवा निगमका तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

काठमाडौं— नेपाल वायुसेवा निगम नेपाल एअरलाइन्सले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एअरलाइन्सको सोल्टी होटलमा रहेको शेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिएका थिए । 

उनका अनुसार निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ । नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ११:५१
Weather Update