News Griha :: न्यूजगृह
चिकित्सकको सामूहिक राजीनामापछि उपचार सेवा प्रभावित

विराटनगर— चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित बनेको छ ।

लामो समयदेखि पदोन्नति नभएको भन्दै पदोन्नति गर्न गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूको माग प्रतिष्ठानका पदाधिकारीले पूरा नगरेपछि काठमाडौं गएरसमेत दबाबमूलक आन्दोलन गरेका थिए ।

मागमा सुनुवाइ नभएपछि उनीहरूले सामूहिक राजीनामा दिएका थिए । ठूलो सङ्ख्यामा चिकित्सकहरूको अनुपस्थिति भएपछि उपचारका लागि आउने बिरामी प्रभावित बनेका हुन् । 

बिरामीको उपचार मात्र होइन चिकित्सा शिक्षा अध्ययनरत हजारभन्दा बढी विद्यार्थीको पठनपाठन पनि प्रभावित भएको छ । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै १ सय ७७ जना सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर, एडिसनल प्रोफेसर तहका चिकित्सकले गत बुधबार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका सिनेट अध्यक्ष एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामूहिक राजीनामा दिएका थिए ।

उनीहरूले राजीनामा दिएपछि प्रतिष्ठानमा थोरै सङ्ख्यामा प्रोफेसर र जुनियर रेजिडेन्टहरूले बिरामीको उपचार गरिरहेका छन् । बिरामीको चापका हिसाबले चिकित्सकको संख्या पर्याप्त छैन । आन्दोलनरत मेडिसिन विभागका प्रमुख प्रा.डा. रविन मास्केका अनुसार प्रतिष्ठानका पदाधिकारीले समाधानको प्रयास नगर्दा उपचार सेवा प्रभावित भएको हो ।

प्रतिष्ठानका रजिस्ट्रार सूर्य सङ्ग्रौलाले पदोन्नति प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालयले नयाँ नियमावलीको मस्यौदा तयार गरिसकेको बताउँदै चिकित्सकहरूलाई काममा फर्कन आह्वान गरिएको बताए । धरानका राजनीतिक दलहरूले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनलाई समस्याको समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेका छन् । दलहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई उपयुक्त समाधानमार्फत स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्न भनेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १६:२३
Weather Update