काठमाडौं— दसैँ सुरु भएसँगै शेयर बजार बढ्न लागेको छ ।
असोज मसान्तमा बैंक ब्याज तिर्न र दसैँमा खर्च व्यवस्थापन गर्न शेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार १८५१.४३ को विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।
नेप्सेमा लगातार दोस्रो दिन पनि वृद्धि हुँदा १९०० को विन्दु नाघेर बन्द भएको छ । बुधबार बजार परिसूचक नेप्से ४३.२७ अङ्कले वृद्धि हुँदा १९०७.८९ को विन्दुमा बन्द भएको हो ।
बुधबार सबै उपसूचकमा हरियाली छाउँदा बैंकिङ क्षेत्रमा नै आकर्षण देखिएको छ । निर्जीवन बीमा उपसूचक सर्वाधिक २.८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २.७६ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५३ प्रतिशत र बैंकिङ उपसूचक २.४६ प्रतिशत बढेर बन्द भएको छ ।
नेप्सेमा हरियाली देखिएपनि दसैँ लाग्दा लगानीकर्तामा सक्रियता घटेको छ । जसले बुधबार कारोबार रकम पनि घटेको छ ।