News Griha :: न्यूजगृह
पोखरा विमानस्थल नेपालको लागि ऋणको बोझ !

काठमाडौं— अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ भएको टिप्पणी गरेको छ ।

खोजमूलक समाचार सामग्रीमा चिनियाँ लगानीमा चिनियाँ कम्पनीले नै निर्माण गरेको पोखरा विमानस्थल महङ्गो भएको दाबी गरिएको छ । पोखरा विमानस्थललाई चिनियाँ पक्षको जित र नेपालका लागि ऋणको बोझ भएको समाचारमा उल्लेख छ ।

न्यूयोर्क टाइम्सले विमानस्थल निर्माणमा संलग्न ६ जना सरोकारवाला र हजारौँ पृष्ठका दस्तावेजको अध्ययनपछि प्रकाशित गरेको समाचार सामग्रीमा चिनियाँ कम्पनीले विमानस्थल निर्माण गर्ने बेला मुनाफाको संरक्षण र आफ्नो स्वार्थ पूरा गर्न नेपाली पक्षको नियमनलाई समेत बेवास्ता गर्दै आफ्नै व्यवसायिक सर्त मात्रै लाद्न खोजेको उल्लेख छ ।

यसबाट नेपालले महङ्गो लागतमा विमानस्थल बनाउनु परेको र चिनियाँ ऋण तिर्नका लागि आवश्यक यात्रुहरू पनि विमानस्थल नआएको जनाइएको छ । हाल चीनको बीआरआई परियोजना सुरु भएको १० औँ वर्षको अवसरमा आयोजित सम्मेलनमा नेपालसहित विश्वका दर्जनौँ मुलुकका प्रतिनिधिहरू सहभागी भइरहेका बेला न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचारमा पोखरा विमानस्थल जस्तो ‘कुनै पनि हालतमा पूर्वाधार बनाउने’ चिनियाँ विकास मोडेललाई लिएर आलोचना चर्किँदै गएको जनाइएको छ । 

चीनले दिने ऋणबाट पूर्वाधार निर्माण गर्दा महङ्गो लागत हुने र गुणस्तर नै कमजोर हुने भएकाले एकातर्फ गरिब र विकासशील मुलुकमाथि ऋणको भार थपिँदै जाने र अर्कोतर्फ चिनियाँ कम्पनीले मोटो रकम प्राप्त गर्ने न्यूयोर्क टाइम्सको समाचारमा जनाइएको छ ।

चीनको राज्य सञ्चालित सिनोमाक कम्पनीको पूर्वाधार निर्माण गर्ने शाखा चाइना सीएएमसी इन्जिनियरिङले निर्माण सामग्रीसमेत चीनबाटै आयात गरेको, चिनियाँ डिजाइनमा निर्माण गरिएको र त्यहाँ चीनमा निर्मित सुरक्षा एवम् औद्योगिक प्रविधि जडान गरिएको जनाइएको उक्त समाचार सामग्रीमा उल्लेख छ ।

विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने अपेक्षाअनुसार यात्रुहरू पनि आएका छैनन् । चीनको सीएमएसी कम्पनीले २१ करोड ६० लाख अमेरिकी डलरमा विमानस्थल निर्माण भएको हो । यसमध्ये एक तिहाइ रकम निर्ब्याजी ऋण हो । यति ठूलो चिनियाँ ऋणले बनाएको विमानस्थलले आम्दानी गर्न नसक्दा ऋण कसरी तिर्ने भन्ने प्रश्न उब्जिएको छ ।

यस विमानस्थल निर्माण प्रक्रिया नै त्रुटिपूर्ण रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । चिनियाँ कम्पनीलाई ठेक्का दिएपछि मात्रै सन् २०१६ मा विमानस्थल निर्माणका लागि नेपाल र चीनबीच २० वर्षे सम्झौता भएको थियो । चिनियाँ ऋण सन् २०२६ देखि तिर्न सुरु गर्ने विषयमा नेपाली पक्ष सहमत रहेको समाचारमा जनाइएको छ ।

सन् २०१८ मा नागरिक उड्डयन प्राधिकरणले यही परियोजना निर्माण गर्ने चिनियाँ ठेकेदारको नियमन गर्नका लागि परामर्शदाताका रुपमा मुरारी गौतमलाई नियुक्त गरेको थियो । उनीसँग कतार र साउदी अरबमा यसै क्षेत्रमा काम गरेको अनुभव पनि थियो । उनले काम थालेको प्रारम्भिक चरणमै त्रुटि भेटिसकेका थिए । उनका अनुसार परियोजनाका महत्वपूर्ण पदहरू रिक्त थिए भने भएका पदहरूमा पनि कलेजबाट भर्खरै बाहिरिएका अनुभवहीन जनशक्तिलाई नियुक्त गरिएको थियो ।

उनका अनुसार सीएएमसीले आवश्यक परीक्षण नै नगरी विमानस्थलको ८ हजार २ सय फुट लम्बाइको रनवे निर्माण सुरु गरेको थियो । माटोको घनत्व नै जाँच नगरी विमानस्थल निर्माण गर्दा पछि गएर जमिनमा धाँजा फाट्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।

पोखरामा वर्षाको विवरण र भौगोलिक अवस्थिति नै नहेरी विमानस्थल निर्माण गरिएको र यसबाट पछि गएर बाढी आउने जोखिम रहने उनले न्यूयोर्क टाइम्सलाई बताए । यसप्रति असन्तुष्टि व्यक्त गर्दै गौतमले काम थालेको एक वर्षपछि नै राजीनामा दिए । यता प्राधिकरणका एक जना इन्जिनियर कृष्ण पौडेलले भने उक्त कम्पनीको कामकारवाहीप्रति आफ्नो संस्था सन्तुष्ट रहेको जनाए । उनका अनुसार कुनैबेला भाषागत र डिजाइनबारे असमझदारी भएको स्वीकार गरे ।

यही विमानस्थल निर्माण सम्पन्न हुने बेला चिनियाँ ठेकेदार कम्पनीका साइट म्यानेजर जु जानफेङ चढेको कार पोखरामा दुर्घटनामा पर्यो । जुले मदिरा पिएर कार चलाउँदा भएको दुर्घटनामा देउकुमार तामाङको निधन भयो । दुर्घटनापछि सीएएमसी कम्पनीले तामाङका परिवारलाई सम्पर्क गरी क्षतिपूर्तिबापत १० लाख रुपैयाँ दिने प्रस्ताव गर्यो । तर, परिवारले स्वीकार गरेन ।

पछि सीएएमसीले क्षतिपूर्तिबापत दोब्बर पैसा दिने र विमानस्थलमा पसल सञ्चालन गर्न दिने भनेपछि परिवारले उक्त प्रस्ताव स्वीकार गर्यो ।  जु ५० दिन थुनामा बसेर रिहा भए ।

गत असारमा चिनियाँ राजदूत छेन सोङले उक्त विमानस्थल बीआरआई परियोजना अन्तर्गत रहेको दाबी गरेका थिए । यसलाई नेपाली पक्षले अस्वीकार गरिसकेको छ । 

पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत रहेको भन्ने चिनियाँ दाबीले छिमेकी भारतलाई झस्काएको छ । हालसम्म कुनै पनि भारतीय हवाई कम्पनीले पोखरा विमानस्थलमा सेवा दिने लक्षण देखाएका छैनन् ।

सन् २०१४ मा भएको एक अध्ययनले पोखरा विमानस्थलको आफ्नै आयबाट ऋण तिर्न सकिने उल्लेख गरिएको थियो, तर त्यसका लागि विमानस्थलमा सन् २०२५ भित्र अनुमानित २ लाख ८० हजार यात्रु आउनुपर्छ । तर हालसम्म विमानस्थलबाट कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०५:५७
Weather Update