
काठमाडौं— उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको ऐन र विधान भन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने बताएका छन् ।
सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहायक रथी यमबहादुर अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयलाई जोडेर भ्रम छर्ने काम भएको भन्दै नेपाली सेनाको ऐन र विधान भन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने बताएका हुन् ।
खड्काले भने, ‘आज पनि नियमावलीलाई यताउता पार्न खोजियो भन्ने गलत झुटा कुरा प्रचार भएको छ । नेपालको प्रधानसेनापति हुन एउटा निश्चित मापदण्ड छ । निश्चित तालिमहरू प्राप्त गरेको अनुभवको अनिवार्य आवश्यकता छ । ती सबै आधार र अधिकारहरू भन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने म जाने कल्पना पनि गर्न सक्दिनँ ।’
उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक ऐननियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रस्ट पारे ।
खड्काले भने, ‘उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक ऐननियमको व्यवस्था छ । त्यसका लागि सेनाको एउटा बोर्ड छ । त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भूमिका प्रभावकारिताको मूल्यांकन गरी बढुवाको लागि सिफारिस गर्छ । अनि प्रधानसेनापतिले त्यो सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउनुहुन्छ, रक्षा मन्त्रालयले परीक्षण गर्छ ।त्यसपछि मन्त्रिपरिषद्मा गएर एक पटकलाई पदावधि थपिने प्रचलनअनुसार यमबहादुर अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो ।’