
काठमाडौं— २०७६ असोज २ गते तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये यमबहादुर अधिकारीले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह लगाए ।
विद्रोही सेनाबाट सेनामा समायोजन गरिएकामध्ये उनी नै सबैभन्दा माथिल्लो दर्जामा पुगेका अधिकृत हुन् । तत्कालीन नेकपा नेतृत्वको सरकारले २०७६ भदौ ३१ गते विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको थियो । चार वर्षको पदावधि सकिएपछि पद स्वतः खारेज हुने गरि त्यतिबेला अधिकारीलाई बढुवा गरिएको थियो ।
त्यतिबेला प्रधानमन्त्री थिए केपी शर्मा ओली । अधिकारीको ४ वर्षीय पदावधि यही भदौ ३० गते पूरा हुन्छ । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि गरिएको समायोजनका क्रममा उपसेनानीमा नियुक्त गरिएका अधिकारीलाई त्यसको केही समयमै महासेनानी बनाइएको थियो ।
शान्ति प्रक्रिया नटुंगिएको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न पनि उनलाई बढुवा गरिएको हुनसक्ने त्यतिबेला आकलन भएको थियो । किनभने उनले सहायक रथी बन्न चाहिने ‘हाइयर कमान्ड कोर्स’ पूरा गरेका थिएनन् ।
तर अहिले एक पटकका लागि भनेर थपिएको सेनाको सहायक रथीको पदावधि लम्ब्याउने तयारी भइरहेको छ । चार वर्षपछि स्वतः खारेज हुने गरी सिर्जना भएको सहायक रथीको विशेष पदको मन्त्रिपरिषद्बाट विशेष निर्णय गरेर लम्ब्याउने वा उपरथी कै विशेष पद सिर्जना गरेर पूर्वलडाकु कमान्डरलाई बढुवा गर्ने बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरिरहेका छन् । रक्षा मन्त्रालय स्रोतले भन्यो, 'तत्कालीन जनमुक्ति सेनाका लडाकु यमबहादुर अधिकारीलाई नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा गर्ने वा सोही पदमा पदावधि थप्ने प्रस्तावका विषयमा गृहकार्य भइरहेको छ ।'
सैनिक नियमावलीअनुसार सहायक रथीको पदावधि तीन वर्षसम्म थप्न सकिन्छ । तत्कालीन मन्त्रिपरिषद्ले चार वर्ष पदावधि र एक पटकलाई भनेर सहायक रथी पद सिर्जना गरेको थियो । अब त्यो निर्णय उल्ट्याउने वा नयाँ पद सिर्जना गर्ने, जसरी भए पनि यमबहादुर अधिकारीलाई सेनामै राख्ने दाउ प्रचण्ड सरकारले गरिरहेको हो ।
यस विषयमा उनले सत्ता गठबन्धन दलसँगसमेत छलफल गरिसकेका छन् । तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै बृहत् शान्ति सम्झौताअनुसार संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले प्रमाणीकरण गरेका १९ हजारभन्दा बढी लडाकुमध्ये १४ सयभन्दा बढी लडाकु नेपाली सेनामा समायोजन भएका थिए ।
तीमध्ये राजनीतिक सहमतिअनुसार तालिममा सहभागी ७१ जना पूर्वलडाकु सबैलाई नौ महिने तालिम दिएर उपसेनानी, त्यसपछि तीन महिने विशेष तालिम गराएर सहसेनानी र सेनानीमा बढुवा गरिएको थियो ।
तीमध्ये तीन जनालाई गणपति तालिम दिएर प्रमुख सेनानी र गणपति तालिमपछि प्रमुख सेनानी बनेका तीन जनामध्ये अधिकारी (हाल सहायक रथी) लाई महासेनानीमा बढुवा गर्न सेनाले सरकारसमक्ष सिफारिस गरेको थियो । अधिकारीलाई महासेनानीको दर्ज्यानी चिन्ह अवकासप्राप्त प्रधानसेनापति गौरवशमशेर जबराले लगाइदिएका थिए ।