नवलपरासी— नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक फूलखेती गर्दै आएका छन् । स्थानीय महिला समूहमा आवद्ध भई २०७६ सालदेखि सामूहिक फूलखेती गर्दै आएका हुन् ।
सञ्चालनका समयमा ६ कठ्ठा जग्गामा फूलखेती गरिएकोमा अहिले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठा पुर्याइएको समूहमा आवद्ध लक्ष्मी अधिकारीले बताइन् ।
‘व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी भएको छ । चार/पाँच जनाको समूह मिलेर खेती गरेका छौँ’, उनले भनिन्,‘बर्सेनी फूलको माग बढ्दो छ । स्थानीयस्तरदेखि जिल्ला बाहिरसमेत बिक्रीवितरण गर्ने गरेका छौँ ।’
अधिकारीका अनुसार समूहले गत वर्ष खेतीका लागि डेढ लाख खर्च गरेर पाँच लाख आम्दानी गरेको छ । ‘अरू खेती गर्नुभन्दा फूलखेती सहज भएकाले पनि दिदीबहिनीको यसतर्फ आर्कषण बढ्न थालेको छ’, उनले भनिन् ।
गैँडाकोट–२ का सरिता कार्कीले सामूहिक फूलखेतीबाट राम्रो आम्दानी गरेको बताइन् । तिहारमा मात्र नभएर पछिल्लो समय दैनिकरुपमा हुने औपचारिक कार्यक्रममा सयपत्री फूलको आर्कषण बढेकाले फूलको बजार राम्रो रहेको उनको भनाइ थियो । उनका अनुसार समूहले गरेको फूलखेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री फूल लगाएका छन् ।
कावासोती नगरपालिका–७ की मिश्रा पराजुलीले आउँदै गरेको तिहारका लागि एक बिघा जमिनमा सयपत्री फूल लगाएकी छिन् । चाडपर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले आठ हजार बोट लगाएको उनले बताइन् ।