News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्— अर्थतन्त्र लयमा फर्किंदै छ

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले  अहिले पुरै विश्वनै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताए ।

अनेकन समस्याका बाबजुद अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको उनको दाबी छ । ‘अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् ।’

उनले देशमा आर्थिकमन्दी छाएको भन्दै यसलाई सुधार गर्नको लागि सबैले आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले भने, ‘अर्थतन्त्रको सुधार अर्थ मन्त्रालयले मात्रै गरेर सम्भव हुँदैन । जसको जहाँ जिम्मेवारी छ, राज्य संयन्त्रमा भएको संस्था, निजी क्षेत्र सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । यो भयो भने केही सुधार हुन्छ भन्ने विश्वास छ ।’

त्यस्तै उनले स्रोत र साधनको अभावले सशक्तिकरणको अभियानले पूर्णता पाउन नसकेको भन्दै सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:३६
Weather Update