कास्की— बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले वि.सं. २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थाले । उनले गाउँमा च्याङ्ग्रापालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्थे ।
वि.सं.२०७४ को स्थानीय तहको निर्वाचनमा उनी बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए । यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे ।
गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे । जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झिए ।
गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । वि.सं. २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उनलाई फेरि जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन ।
‘पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो’,उनले भने,‘पार्टीले टिकट दिएन् अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालनतिर लागें ।’ उनलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उनको सिद्धान्त छ ।
‘म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु’,उनले भने,‘काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु ।’
धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भेटिन्छन् । उनी दसैँका लागि १२७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आएका हुन् ।
‘दसैँमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ । यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ’, उनले भने,‘मैले ल्याएको एक सय २७ च्याङ्ग्रामध्ये आफैँले पालेको ८० वटा छ । अरु गाउँलेसँग किनेर ल्याएको छु ।’
सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन् । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउँने उनको योजना छ ।
‘सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ’, उनले भने, ‘अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने भन्ने योजना छ ।’
उनले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजारसम्म तोकेका छन् । उनले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्छन् । यो व्यापारबाट उनले एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरे ।
‘गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो । मैले उहाँहरुको सेवा पनि गरे’, उनले भने, ‘अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दुःख नै छ । मलाई जनप्रतिनिधि हुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ ।’