बाग्लुङ— मूल्य आकासिए पनि मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनले मूल्य आकासिएकाे हाे । बाग्लुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्र्याएका छन् ।
मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याएका हुन् । लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने गरेको बताउँदै थापाले यस पटक ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए ।
उनका अनुसार एउटाको मूल्य ५० हजारसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो ।
‘अहिले रोज्जा च्याङ्ग्रा ५० हजारमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नुपर्यो । मुस्ताङबाट ल्याउदा दुःख धेरै छ’,उनले भने,‘महंगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउँदा मुस्ताङका च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।’
छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो ।