काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।
मन्त्री निवास पुल्चोकमा आइतबार नेपाल विद्यार्थी संघ (नेविसंघ) को ज्ञापनपत्र बुझ्दै उनले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको बताए ।
दसैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याए ।
निगमले आन्तरिक उडानका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ । ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ ।
निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्वीनअटर जहाज मात्रै छन् । ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन् । पर्यटनमन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एअरलाइन्सको विमान दसौभरी सञ्चालन गर्ने जानकारी दिए ।
उनले चाडबाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने पनि बताए ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले चाडबाडका बेलामा हुने भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र सहुलियत भाडादरको व्यवस्था गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापन बुझाएको हो ।