News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्– माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले ऋण दिन्छ 

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको बताएका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आइतबार स्वदेश फर्केका मन्त्री महतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सो कुरा बताएका हुन् ।

विश्व बैंक र आइएमएफको संयुक्त वार्षिक बैठक मोरोक्कोको माराकेश भएको थियो । मन्त्री महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।

महतले भ्रमणमा विश्व बैंकले नेपालको माथिल्लो अरुण जलविद्युत् परियोजनाको लागि १ खर्ब ३० खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणमा उपलब्ध गराउने बताए ।

‘अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले महत्वपूर्ण नेतृत्वदायी सहयोग गर्ने भएको छ । त्यसमा पनि हामीले सहुलियतपूर्ण ऋणका आधारमा आयोजना अगाडि बढाउनुपर्ने, यो बजार ब्याजदर महंगोपर्ने हुनाले हामीले त्यसको भार न्यून हुनुपर्ने, सकेसम्म पुरै सहुलियतपूर्ण ऋण हुनुपर्ने कुरामा जोड दिएका छौं । विश्व बैंकले अरु पनि दातृ निकायलाई यो परियोजनामा जोड्ने कुरा गरेको छ । त्यसमा पनि सहुलियतपूर्ण ऋणलाई नै प्राथमिकतामा राख्ने कुरा भएको छ र उहाँहरुले यसलाई सकारात्मक रुपमा लिनुभएको छ,’ महतले भने ।

महतले विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका आकिहिको निसिओसँगको छुट्टै छलफलमा माथिल्लो अरुण जलविद्युत् आयोजनाबारे छलफल गरेका थिए ।

अमेरिकी डलर ३०० मिलियन अर्थात् ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्ष सहमत भएको जानकारी महतले दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:०३
Weather Update