News Griha :: न्यूजगृह
काभ्रेमा डेँगुको सङ्क्रमण फेरी बढ्यो

काभ्रे— काभ्रेमा फेरी डेँगुको सङ्क्रमण देखिएको छ ।  १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेँगु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेँगु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ ।

यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् । यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेँगु सङ्क्रमित रहेका छन् । मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक जना सङ्क्रमित रहेको कार्यालयका निमित्त प्रमुख राजाराम अधिकारीले बताए । 

उनका अनुसार केही दिन डेँगु सङ्क्रमण बढ्नसक्ने अनुमान गरिएको छ । 

काभ्रेमा यसअघि छ सय ८० जना डेँगुबाट सङ्क्रमित भइसकेका छन् । डेँगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेँगुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०९:३३
Weather Update