News Griha :: न्यूजगृह
मनाङ एअर दुर्घटनाका घाइते पाइलटलाई थप उपचारका लागि भारत लगियो [अपडेट]

काठमाडौं— मनाङ एअरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारको लागि भारत लगिएको छ ।

शनिबार बिहान सोलुखुम्बुमा मनाङ एअरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सेढाईँको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । थप उपचारको लागि सेढाईंलाई भारत लगिएको अस्पतालले जनाएको छ । त्यहाँ नेसनल बर्न सेन्टर मुम्बईमा उनको उपचार हुनेछ ।

अस्पतालका अनुसार साँझ साढे सात बजे उनलाई विमानमार्फत् थप उपचारका लागि भारत लगिएको हो । अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ ।  साथै उनको फोक्सो, मेरूदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमार्फत् अस्पतालले जानकारी दिएको छ ।

उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालले जनाएको छ । शनिबार बिहान ७ बजेर १३ मिनेटमा हेलिकप्टर दुर्घटना भएको थियो । 

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २०:०१
Weather Update