
काठमाडौं— दक्षिणी गाजापट्टी छोडेर सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जनाको इजरायली हवाई आक्रमणमा मृत्यु भएको छ । शुक्रबार बिहान इजरायलले उक्त क्षेत्रका ११ लाख मानिसलाई २४ घण्टाभित्र सहर छोड्न चेतावनी दिएको थियो ।
चेतावनीपछि घर छोडेर सामूहिक रुपमा निस्किएकाको भीडमा इजरायलले हवाई आक्रमण गरेको हो । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । हताहत हुनेमा धेरैजसो महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ।
योसँगै गाजापट्टीमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् । यस्तै हमासको आक्रमणमा इजरायलतर्फ १३ सय जनाको मृत्यु भएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले इजरायलको २४ घण्टे चेतावनीअनुसार घाइतेहरुलाई सार्न कठिन भएको बताएको छ ।
दुई अस्पतालमा सयौँ गम्भीर घाइते उपचाररत रहेको डब्ल्युएचओको भनाइ छ। उसले घाइतेहरुको स्थानान्तरण असम्भव भएको जनाएको अलजजिराले उल्लेख गरेको छ ।













