News Griha :: न्यूजगृह
गैरीगाउँ हत्या प्रकरणका आरोपितलाई आजीवन कारावासको मागदाबी सहित मुद्दा दर्ता

काठमाडौं— गैरीगाउँ हत्या प्रकरणका आरोपितलाई २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

४ जनाको सामूहिक हत्या गरेको अभियोगमा उनीमाथि सरकारी वकिलको कार्यालयले आजीवन कारावासको मागदाबीसहित मुद्दा दर्ता गरेको हो । भण्डारीको कपडा र हतियारमा लत्पतिएको रगत र मृतकहरूको डीएनए मिलेको प्रहरीको भनाई छ । 

बुधबार उनीविरुद्धको अनुसन्धान सकेर काठमाडौं प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो । बयानका क्रममा सञ्जयले प्रहरीलाई नै चकित पार्ने बयान दिएपछि उनको ब्रेन म्यापिङ् समेत गरिएको थियो ।  

भण्डारी गत भदौ २९ गते काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिलमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनले उक्त फर्निचरमा कार्यरत दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाका १९ वर्षीय विशाल राईको हत्या गरेको आरोप छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:३४
Weather Update