काठमाडौं— तनहुँका एक व्यक्तिले ‘क्रिप्टोकरेन्सी’को किनबेच गर्ने ‘प्लेटफर्म’मार्फत लकडाउनको समयमा १० लाख रुपैयाँ लगानी गरे । दैनिक हिसाबले गज्जबको ‘रिटर्न’ पाउने देखेपछि उनी ‘क्रिप्टो संसार’मा आकर्षित भएका थिए ।
निश्चित समायावधिमा उनको लगानीको तेब्बर प्रतिफल दिने दाबी उनी संलग्न कम्पनीले दिएको थियो । लगानी गरेको केही समयसम्म कम्पनीले उनलाई दैनिक रूपमा ‘रिटर्न’ आउन थाल्यो । तर, एकाएक उनको अकाउन्ट ‘ब्लक’ भयो । लगानी गरेको रकममध्ये करिब आधा रकम फिर्ता पाइसकेपछि ब्लक भएको उनको अकाउन्ट अहिलेसम्म खुलेको छैन ।
‘हाइपर’ नामक प्लेटफर्ममार्फत उनी क्रिप्टोको दुनियाँमा छिरेका थिए । ‘आधाउधी पैसा त मैले फिर्ता पाएँ । तर, मेरो अकाउन्टमा समस्या देखाउँदै अहिले पैसा आउन छाडेको छ,’ ती लगानीकर्ता भन्छन्, ‘अब बाँकी पैसा आउँछ जस्तो मलाई लाग्दैन ।’ तेब्बर कमाउने आशासहित ‘क्रिप्टो मार्केटप्लेस’मा लगानी गरेका उनको उल्टो लगानी नै डुब्यो ।
क्रिप्टोमा यतिबेला नेपालका गृहिणीदेखि सरकारी कर्मचारी र जनप्रतिनीधिहरूले समेत लगानी गरिरहेका छन् । कोभिडका कारण लकडाउन भएको बेलामा नेपालमा ‘क्रिप्टो करेन्सी’को किनबेच ह्वात्तै बढेको थियो । अनलाइनबाटै प्रशस्तै कमाउन सकिने लोभ देखाएर ‘क्रिप्टो माफिया’हरूले सर्वसाधारणलाई लगानी गर्न उक्साउँछन् ।
उता बारा नीजगढमा घरजग्गा समेत बेचेर मानिसहरूले यस्तै ‘क्रिप्टो मार्केटप्लेस’मा लगानी गरे । यसरी धेरै जना मिलेर छुट्टाछुट्टै गरेको लगानीको हिसाब गर्ने हो भने करोडौं रुपैयाँ हुन्छ । दुबईबाट संचालित ‘क्रिप्टो मार्केटप्लेस’मा उनीहरूले गरेको लगानी पनि डुब्यो । अहिले उनीहरू आफूलाई लगानी गर्न उक्साउने ‘क्रिप्टो मार्केटप्लेस एजेन्ट’लाई पैसा फिर्ताको लागि ताकेता गरिरहेका छन् । तर, उनीहरूको लगानी फिर्ता आउने–नआउने निश्चित छैन ।
‘दैनिक रूपमा लगानीको तेब्बर रिटर्न पाउने लोभमा घरजग्गासमेत विक्रीवितरण गरेर सर्वसाधारणहरूले लगानी गरेका छन् । तर, नेपालको कानुनले क्रिप्टोमा गरिएको लगानीलाई अवैधानिक करार गरेको कारण लगानी डुब्दा पनि कानुनी उल्झनमा पर्ने भएपछि उजुरी गर्दैनन्,’ साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरिक्षक नवीन अर्याल भन्छन्, ‘ यस्तो खालको उजुरी निकै कम मात्र ब्यूरोमा आउँछन् ।’
क्रिप्टोमा लगानी नगर्नका लागि नेपाल राष्ट्र बैंकसँगै प्रहरीको साइबर ब्यूरोले पनि जनचेतानामूलक सामाग्री र सूचना जारी गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार नेपालको कुनै पनि निकायसँग क्रिप्टोमा गरिएको लगानीको यकिन तथ्यांक छैन । ‘क्रिप्टोमा हुने लगानी नियमित बैंकिङ प्रणालीबाट हुँदैन र राष्ट्र बैंकको अनुसन्धान विभागले पनि यो विषयमा सर्भे गर्न सकिरहेको छैन,’ पोखरेल भन्छन्, ‘कानुनी रूपमा आफै समस्यामा पर्ने भएपछि राष्ट्र बैंकले गर्ने सर्भेमा पनि लगानीकर्ताहरूले सही सूचना दिँदैनन् ।’
यद्यपि, बजारको अनौपचारिक स्थिति हेर्दा क्रिप्टोमा अर्बौँमा लगानी भएको उनी स्वीकार्छन् । ‘रेमिटेन्स डाइभर्ट र हुन्डीमार्फत लगानीकर्ताहरूले क्रिप्टोमा लगानी गरिरहेका छन्,’ सहप्रवक्ता पोखरेल भन्छन्, ‘जसले गर्दा राष्ट्र बैंक र मुलुकको समग्र आर्थिक प्रणालीलाई नै यसले असर गरेको छ ।’ विशेषगरी कामदार भिसामा खाडी मुलुक जाने नेपालीहरूले ठुलो मात्रामा ‘क्रिप्टोकरेन्सी’मा लगानी गरेका छन् ।
त्यसो त राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पछिल्लो समय रेमिट्यान्स बढेको देखिन्छ । ‘डलरको भाउ बढ्दा नेपालमा रेमिट्यान्स रकम बढेको जस्तो देखिन्छ,’ पोखरेल भन्छन्, ‘तर नेपाल आउनुपर्ने ठूलो रेमिट्यान्स रकम यस्तै क्रिप्टोकरेन्सीको किनबेचमा उतै रोकिन थालेको छ । जसले मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।’
के गर्दैछ नियामक निकाय ?
विश्वका कतिपय देशले ‘क्रिप्टोकरेन्सी’लाई मान्यता प्रदान गरेपनि नेपाल राष्ट्र बैंकले भने यसलाई नेपालमा वैधता दिन नसकिने बताएको छ ।
कुनै पनि नियामक निकायको अधिनमा नरहने यस्तो खालको मुद्रा प्रयोगमा आएको खण्डमा आर्थिक रूपमा ठूलो समस्या हुने उसको दाबी छ । ‘क्रिप्टोकरेन्सी’मा लगानी रोक्नका लागि राष्ट्र बैंकले पटकपटक सूचना प्रकाशित गर्दै आएको छ ।
केही दिन अगाडि मात्रै राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण’ जारी गर्दै भनेको छ, ‘क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट जारी भएको हुँदा सार्वभौम राज्यबाट निष्कासन हुने गरेको विद्यमान मुद्रासम्बन्धी व्यवस्थामा चुनौती खडा गर्ने हुन्छ । क्रिप्टोकरेन्सीको प्रचलनले अर्थतन्त्रमा स्वतः एक भन्दा बढी मुद्रा प्रणाली (द्वय मुद्रा) प्रचलनमा रहने हुन्छ । मुद्रा निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई एकाधिकार दिएको परिप्रेक्ष्यमा नेपालमा क्रिप्टोकरेन्सी जारी हुँदा तथा प्रचलनमा आउँदा ऐनको उक्त व्यवस्थाको पालना नहुने देखिन्छ ।’
‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१’ अनुसार नेपालबाट नेपाली नागरिकले विदेशमा कुनै पनि किसिमको लगानी गर्न पाउँदैनन् । यसरी विदेशमा लगानी गरेको पुष्टि भएमा त्यस्ता लगानीकर्तालाई ‘बिगो बमोजिम जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने’ व्यवस्था छ ।
के हो क्रिप्टोकरेन्सी ?
नेपालमा प्रतिबन्धित भएपनि क्रिप्टोकरेन्सीलाई विश्वमा डिजिटल मुद्राको रूपमा लिइन्छ । सन् २००८ मा ‘सातोसी नाकामोटो’ नामको क्रिप्टोकरेन्सी इतिहासकै पहिलोपटक सार्वजनिक भएको थियो । तत्कालीन समयमा गुप्त तवरले कम्पनी र संचालकहरूको नाम नखुलाइ यो मुद्रा सार्वजनिक भएको थियो ।
‘वेब बेस्ड सफ्टवेयर’मार्फत यो संचालन हुन्छ । मार्केटप्लेसमा सन् २००९ मा ‘बिटक्वाइन’को उदय भएपछि क्रिप्टाकरेन्सीतर्फ धेरैको ध्यान गएको हो । पछिल्लो समय विभिन्न मुलुकमा ‘क्रिप्टोकरेन्सी’को माध्यमबाट कारोबारसमेत हुँदै आएको छ ।
विश्वमा अहिले करिब २३ हजार ‘क्रिप्टोकरेन्सी’हरू प्रचलनमा रहेका छन् । क्रिप्टोकरेन्सीको कुल बजार पुँजीकरणमा ‘बिट्क्वाइन’को हिस्सा ४२ प्रतिशत रहेको छ ।
संयुक्त राष्ट्र संघले विकासोन्मुख मुलुकहरूमा क्रिप्टोकरेन्सीको विस्तार रोक्नु पर्ने धारणा राखेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले क्रिप्टोकरेन्सीको कानुनी मान्यता खारेज गर्न सुझाव दिएको छ । चीन र भारतमा समेत क्रिप्टोकरेन्सीलाई अन्य विकसित मुलुकमा जस्तो खुल्ला गरिएको छैन ।
‘माइनिङ’ र खरिद गरी मुख्यतः दुई स्रोतबाट क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिन्छ । क्रिप्टोकरेन्सीको नेटवर्कमा कारोबारहरूको हिसाबकिताब राख्ने कार्यलाई माइनिङ भनिन्छ । क्रिप्टोकरेन्सीको किनबेचका लागि हाल विश्वमा करिब ४५० क्रिप्टोकरेन्सी ‘एक्सचेन्ज’हरू उपलब्ध छन् ।